May 14, 2020, Thursday
२०७७ जेष्ठ १, बिहीबार

यी हुन् कोरोना संक्रमणबाट ज्यान गुमाउने चर्चित कलाकारहरु !

यी हुन् कोरोना संक्रमणबाट ज्यान गुमाउने चर्चित कलाकारहरु !

महामारीको रूपमा फैलिएको कोरोना संक्रमणबाट विश्वभरिमा मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ९३ पुगेको छ भने संक्रमितको संख्या १९ लाख २४ हजार ६ सय ७९ पुगेको छ ।

कोरोना संक्रमणका कारण विश्व चर्चित कलाकारहरुले समेत ज्यान गुमाएका छन् भने कति निको भएर घर फर्किसकेका छन्।यी हुन् कोभिड: १९ बाट ज्यान गुमाएका चर्चित कलाकारहरु :

१. टिम ब्रुक टेलर
बेलायतका चर्चित कमेडियन टिम ब्रुक टेलरको कोरोना संक्रमण बाट निधन भएको छ । ब्रुक टेलरको गत अप्रिल १२ मा ७९ वर्षको उमेरमा निधन भएको हो । उनले सन् १९६० मा बिबिसी रेडियोबाट रेडियो यात्रा शुरु गरेका थिए ।

६ दशकदेखि हास्य क्षेत्रमा रहेका उनी एनी द गुडिज्, आइएम सरी आइह्याभनट क्लु जस्ता कार्यक्रमले चर्चित थिए ।

२) हिलारी हिथ
बेलायती नायिका हिलारी हिथको कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रमा निभाएको भूमिकाका लागि चर्चित थिइन् ।

लिभरपुलमा जन्मिएकी हिथले सन् १९६८ मा माइकल रिभ्सको चलचित्र विचफाइन्डर जेनेरल मार्फत ठूलो पर्दामा डेब्यु गरेकी थिइन् ।

हिथको गत अप्रिल १०मा निधन भएको थियो

३) जोन प्राइन
अमेरिकाका चर्चित गायक जोन प्राइनको मृत्यु भएको छ । ७३ वर्षीय प्राइनको मार्च २६ मा अस्पताल भर्ना भएका थिए। लक्षण देखिएपनि उनको मृत्यु कोरोनाका कारण भएको भन्ने पुष्टी भने भने भएन ।
यसअघि जोन प्राइनको श्रीमतीलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । सन् १९७१ देखि गायन क्षेत्रमा लागेका उनले हालसम्म धेरै फ्यानहरु कमाइसकेका थिए ।

एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए । उनको गीत ‘रोलिङ स्टोन’ले उनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ को नाम दिएको थियो ।

४) पेट्रिसीया बोसवर्थ
अमेरिकी कलाकार पेट्रिसीया बोसवर्थको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । पत्रकार एवं कलाकार पेट्रिसीयाको ८६ वर्षको उमेरमा गएको अप्रिल २ मा मृत्यु भएको हो ।

उनी सन् १९५९ को फिल्म ’द नन्स स्टोरी’मा देखिएकी थिइन् । त्यस्तैफिल्म ‘फर’, फोर ब्वाइज एण्ड द गन उनका सफल फिल्म हुन् ।

५) एन्ड्रयु ज्याक

चर्चित अभिनेता एन्ड्रयु ज्याकको पनि कोरोना संक्रमण बाट मृत्यु भएको छ । ७६ वर्षीय ज्याकको गत मार्च ३१मा मृत्यु भएको हो ।

अभिनेता एन्ड्रयु ज्याक ‘स्टार वार्स’ सिरिजको एपिसोड ८ मा अन्तिम जेडीको भूमिकामा देखिएका थिए । उनको सरेस्थित अस्पतालमा मृत्यु भएको थियो ।

६) केन शिमुरा
कोरोनाभाइरसका कारण जापानी कमेडियन केन शिमुराको मृत्यु भएको छ । उनको गत मार्च २९ मा निधन भएको हो ।

मार्च २० मा अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना पोजेटिभ देखिएको थियो । शिमुरा जापानका चर्चित कमेडियन हुन् । उनलाई ‘जापानका रोबिन विलियम्स का नामले चिनिन्थ्यो ।

७) जोए डिफी
अमेरिकाका चर्चित गायक जोए डिफीको कोरोनाका कारण मृत्यु भएको छ ।उनको गत मार्च २९मा मृत्यु भएको हो ।

२५ वर्ष भन्दा पहिलेदेखि गायनमा सक्रिय रहेका डिफीको ६१ वर्षको उमेरमा निधन भएको हो । डिफीका ‘हंकी टंक एटिट्युड,’ ‘प्रप मी अप बिसाइड द जुकबक्स,’ ‘बिगर द्यान द बिटल्स,’ ‘इफ द डेभिल्स डान्स्ड’ लगायत गीत चर्चित छन् ।

डिफी जर्मनीबाट प्राप्त गरिने अन्तर्राष्ट्रिय अवार्ड विजेता पनि हुन् । ‘सेम ओल्ड ट्रेन’ गीत मार्फत मेर्ले हगर्डसँग उनले उत्कृष्ट गायकको अवार्ड सेयर गरेका थिए ।

८)टेरेन्स मैकानली
चर्चित अमेरिकन स्क्रिप्टराइटर टेरेन्स मैकानलीको मृत्यु भएको छ । ८१ वर्षीया टेरेन्सको कोरोनाभाइरसको सङ्‌क्रमणबाट गत मार्च २४मा मृत्यु भएको हो ।

उनलाई लामो समयदेखि फोक्सोको क्यान्सर थियो । उनी विश्व प्रतिष्ठित एमी अवार्डबाट सम्मानित भएका थिए।